सहिद दिवसमा प्रधानमन्त्री कार्कीको श्रद्धाञ्जली सन्देश “अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्”

समाचार

काठमाडौं, माघ १६ ।
आज मनाइँदै गरेको सहिद दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र न्यायका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री कार्कीले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आकांक्षामा उठेको जेन–जी आन्दोलनमा सहादत प्राप्त गर्ने वीर योद्धाहरूलाई विशेष नमन गर्नुभएको छ। उहाँले सहिदहरूको साहस, चेतना र संकल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको उल्लेख गर्नुभयो।

प्रधानमन्त्रीले भावुक सन्देश दिँदै “अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्” भन्ने कामना व्यक्त गर्नुभएको छ। साथै, शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माण गर्नु प्रत्येक शासकको निरन्तर दायित्व हुनुपर्नेमा जोड दिनुभएको छ।

सहिद दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रममार्फत सहिदहरूको योगदान स्मरण गरिँदै आएको छ। नेताहरू, नागरिक समाज तथा सर्वसाधारणले सहिदहरूको बलिदानलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा स्मरण गरिरहेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *