बालेन शाहको शहीद दिवस सन्देशः “८५ वर्षमा व्यवस्था फेरियो, सत्ता फेरिएन — अब शहीदका सपना पूरा गर्ने समय आएको छ”

समाचार

काठमाडौं,१६ माघ । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले शहीद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शक्तिशाली सन्देश जारी गर्दै सुशासन, पारदर्शिता र भ्रष्टाचार अन्त्यका लागि निर्णायक संघर्षको आह्वान गरेका छन्।

राणा शासनको अन्त्यका लागि संघर्षरत गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष पुगेको स्मरण गर्दै शाहले भनेका छन्— “राणा शासन त अन्त्य भयो, तर राज्य आजसम्म जनताको बन्न सकेन।”
उनका अनुसार, ८५ वर्षको अवधिमा नेपालमा पटक–पटक राजनीतिक व्यवस्था परिवर्तन भए पनि सत्ताको चरित्र नफेरिँदा नेपाली जनताले निरन्तर बलिदान दिनुपरेको छ। “पटक–पटक जनता शहीद भए, तर शहीदका सपना अझै अधुरा छन्,” उनले उल्लेख गरेका छन्।

शाहले हालैको भदौ महिनामा भएको ‘जेनजी आन्दोलन’ स्मरण गर्दै सुशासन र भ्रष्टाचार अन्त्यको मागसहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले ज्यान गुमाउनुपरेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

उनले अब शहीदका सपना पूरा गर्ने दिशामा देश अघि बढ्नुपर्नेमा जोड दिँदै भनेका छन्—
“लामो समयदेखि जरा गाडेर बसेको भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नु र नेपाललाई आर्थिक रूपमा उन्नत राष्ट्र बनाउनु हाम्रो साझा दायित्व हो।”

राज्यका निकायहरूमा व्याप्त चरम दलीयकरण अन्त्य गरी राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै शाहले शहीदको बलिदानलाई बेवास्ता गर्ने छुट अब कसैलाई नभएको स्पष्ट पारे।

उनले शहीद दिवसलाई केवल स्मरणमा सीमित नराखी मन, वचन र कर्मले प्रतिबद्ध भएर शहीदका सपना साकार पार्ने संकल्प गर्ने दिनका रूपमा लिन आग्रह गरे।

“अब फेरि कसैले शहीद बन्नु नपरोस्,” भन्दै उनले सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *