वीरगंज–१६ नगवामा एमाले उम्मेदवार यादवको घरदैलो अभियान, स्थानीयसँग प्रत्यक्ष संवाद

राजनीति समाचार

वीरगंज, माघ २४ ।
नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवले वीरगंज महानगरपालिका वडा नं. १६ (नगवा) मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गर्नुभएको छ।


घरदैलो अभियानका क्रममा उम्मेदवार यादवले टोल–टोलमा पुगेर स्थानीयहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको दैनिक जीवनसँग जोडिएका समस्या, आवश्यकता, सुझाव तथा अपेक्षाहरू ध्यानपूर्वक सुन्नुभएको थियो। यस क्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी, सुरक्षा र समग्र नगर विकासका विषयमा स्थानीयले आफ्ना धारणा व्यक्त गरेका थिए।

उम्मेदवार यादवले जनताको आवाज नै आफ्नो राजनीतिक यात्राको आधार भएको उल्लेख गर्दै “स्थानीय नागरिकले उठाएका हरेक जायज माग र समस्यालाई प्रतिनिधि सभामा मजबुत रूपमा उठाउनेछु” भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले विकास र सुशासनलाई प्राथमिकतामा राख्दै वीरगंज र पर्साको समग्र विकासका लागि निरन्तर अग्रसर रहने पनि बताउनुभयो।

घरदैलो अभियानका क्रममा स्थानीयवासीहरूले उम्मेदवार यादवप्रति आशा र विश्वास व्यक्त गर्दै विकासमुखी नेतृत्वको आवश्यकता औँल्याएका थिए। नागरिकसँगको खुला संवादले जनप्रतिनिधि र जनता बीचको दूरी घटाउने र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रम समापनपछि उम्मेदवार यादवले वडा नं. १६ का सम्पूर्ण जनताप्रति माया, साथ र विश्वासका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा जनताको भरोसालाई कर्ममार्फत प्रमाणित गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो।


एमालेका अनुसार यस किसिमका घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइनेछ, जसले जनताको प्रत्यक्ष सहभागिता र सुझावका आधारमा नीतिगत निर्णय गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *