पर्सा, माघ २३।
नेकपा एमाले पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवले वीरगंज महानगरपालिका वडा नं. १८ र २२ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नुभएको छ।
कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुन्नुभयो। जनतासँगको प्रत्यक्ष संवादले स्थानीय आवश्यकताहरू बुझ्न र भावी कार्यदिशा तय गर्न महत्वपूर्ण सहयोग पुगेको उहाँले बताउनुभयो।
यसै अवसरमा वीरगंज–१८ भवानीपुर निवासी मधेश आन्दोलनका वीर शहीद स्वर्गीय धर्मराज सिंह राजपुतज्यूकी ममतामयी आमा श्री कलावाती देवी राजपुतिनज्यूसँग प्रत्यक्ष भेटघाट गरी आशीर्वाद लिएको उम्मेदवार यादवले जानकारी दिनुभयो। उहाँले शहीदहरूको बलिदानप्रति सम्मान व्यक्त गर्दै मधेशको विकास, अधिकार र समृद्धिका लागि निरन्तर प्रतिबद्ध रहने धारणा व्यक्त गर्नुभयो।
उम्मेदवार यादवले जनताको आवाजलाई प्रतिनिधि सभामा मजबुत रूपमा उठाउने, विकास र सुशासनका एजेन्डालाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने प्रतिबद्धता दोहोर्याउनुभयो। कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने तथा माया, साथ र विश्वास प्रदान गर्ने वडा नं. १८ र २२ का सम्पूर्ण जनताप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।
