पर्सा प्रहरीले ३० केजी लागू औषध गाँजासहित मोटरसाइकल बरामद गर्यो

समाचार

रसीद आलम

पर्सा,  जेठ १९ ।पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–१ टाँडीस्थित नेपाल–भारत सीमा क्षेत्रमा प्रहरीले ठूलो मात्रामा लागू औषध गाँजा बरामद गरेको छ।

मिति २०८२/०२/१९ गते राती ०१:४५ बजे जगरनाथपुर गाउँपालिका–१ टाँडीबाट भारततर्फ गइरहेको बीआर–०५–एजे–९०७० नम्बरको मोटरसाइकलमा सवार एक जना व्यक्ति भारत प्रवेश गर्न खोजिरहेको अवस्थामा प्रहरीलाई देखेपछि मोटरसाइकल सोही स्थानमा छोडेर भागेको पर्सा प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी पाण्डेपुरबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले उक्त मोटरसाइकल जाँच गर्ने क्रममा करिब ३० किलो लागू औषध गाँजा फेला पारेको छ। तत्काल उक्त गाँजा र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।

पर्सा प्रहरीले सीमा क्षेत्रमा लागू औषधको तस्करी नियन्त्रणका लागि निगरानी र गस्तीलाई अझ प्रभावकारी बनाइरहेको बताएको छ। गाँजा तस्करीको घटना बढ्दै गएकाले प्रहरीले विशेष गस्ती, चेकजाँच र गोप्य सूचनाका आधारमा आवश्यक कदम चालिरहेको छ।

यसअघि पनि पर्सा प्रहरीले विभिन्न स्थानबाट गाँजा तथा अन्य लागू औषध बरामद गर्दै तस्करहरूलाई कानूनी दायरामा ल्याएको छ। यस पटक बरामद गरिएको ३० किलो गाँजा र प्रयोग गरिएको मोटरसाइकल समेत कानूनी प्रक्रियामा अगाडि बढाइएको छ।

पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले सीमा क्षेत्र हुँदै भारततर्फ लागूपदार्थ तस्करी हुनसक्ने भएकाले यस क्षेत्रमा विशेष निगरानी गर्न सर्वसाधारणलाई समेत सहयोग गरिदिन अनुरोध गरेका छन् ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *