बारा ,१९ जेठ ।बारा जिल्लाको कलैया उपमहानगरपालिका–१ बालमन्दिर नजिक सोमवार दिउँसो टिप्परको ठक्करबाट बालिकाको मृत्यु भएको छ। भारत मोतिहारी जिल्ला आठमुहान घर भई हाल कलैया उपमहानगरपालिका–१ मोतिबाघमा डेरा गरी बस्ने हरेराम साहकी छोरी ६ वर्षीया सिवानी गुप्तालाई ना.१ क ८०५६ नम्बरको टिप्परले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई प्रारम्भिक उपचारका लागि आशिर्वाद अस्पताल कलैयामा भर्ना गरिएको थियो। थप उपचारका लागि एल.एस. न्युरो अस्पताल परवानिपुर बारामा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
ठक्कर दिने टिप्पर चालक जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा रहेका छन्। चालक सत्य नारायण साह (वर्ष ३७)को कलैया उपमहानगरपालिका–१८ का बासिन्दा रहेको बारा प्रहरीले जनाएको छ।
शवलाई हाल एल.एस. न्युरो अस्पतालमै राखिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
