काठमाडौं, फागुन ७ । ७६औँ प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै लोकतन्त्रलाई जीवनशैलीका रूपमा स्थापित गर्न संस्थागत सुधार आवश्यक रहेको बताएकी छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले २००७ सालको जनक्रान्तिले नेपाली जनतालाई रैतीबाट नागरिकमा रूपान्तरण गरेको ऐतिहासिक उपलब्धिको स्मरण गरिन्। साथै, २०१५ साल फागुन ७ गतेबाट नेपालमा पहिलो संसदीय निर्वाचन सुरु भएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासको जग त्यहीँबाट बलियो बनेको बताइन्।
कार्कीले लोकतन्त्र स्थापनापछि पनि नेतृत्व तहबाट अपेक्षित जिम्मेवारी निर्वाहमा कमजोरी देखिएको उल्लेख गर्दै त्यसका कारण पटक–पटक आन्दोलन गर्नुपर्ने अवस्था आएको बताइन्। “अब यस्तो नियतिको अन्त्य गर्नैपर्छ,” उनले सन्देशमा उल्लेख गरेकी छन्।
उनले भ्रष्टाचार, नातावाद, विभेद र बेथितिविरुद्धको सङ्कल्पलाई व्यवहारमा उतार्न संस्थागत सुधार अपरिहार्य रहेकोमा जोड दिइन्। स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व सुनिश्चित गर्न तथा समृद्ध राष्ट्र निर्माणका लागि सबै नागरिक एकजुट हुनुपर्ने उनको भनाइ छ।
सन्देशको अन्त्यमा उनले प्रजातन्त्र, सुशासन र नागरिक अधिकारका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदानलाई सधैँ सम्मान गर्नुपर्ने बताएकी छन्।
प्रजातन्त्र दिवस प्रत्येक वर्ष फागुन ७ गते मनाइन्छ, जसले निरंकुश शासन अन्त्य भई प्रजातान्त्रिक युगको सुरुवात भएको ऐतिहासिक दिनको सम्झना गराउँछ।
