निर्वाचन सुरक्षालाई मजबुत बनाउन पर्सामा एसपी नरेशराज सुवेदीद्वारा प्रहरीलाई ब्रिफिङ

समाचार

पर्सा, फागुन ७ । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले पर्सामा खटिएका निर्वाचन प्रहरीहरूलाई विशेष ब्रिफिङ गरेका छन्। निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षालाई प्रभावकारी, निष्पक्ष र भरपर्दो बनाउन आवश्यक निर्देशन दिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित ब्रिफिङ कार्यक्रममा एसपी सुवेदीले निर्वाचन अवधिभर प्रहरी कर्मचारीहरूले उच्च सतर्कता अपनाउनुपर्ने, मतदाताको सुरक्षामा विशेष ध्यान दिनुपर्ने तथा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सक्रिय रूपमा खटिनुपर्ने बताएका थिए। उनले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे।

यसैबीच, प्रहरी प्रधान कार्यालयले पर्सा जिल्लाको सुरक्षा कमाण्ड सम्हाल्न एसपी नरेशराज सुवेदीलाई अस्थायी रूपमा खटाएको हो। जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एसपी सुदीपराज पाठकको पिताको निधनपछि परिवारमा पितृ शोकका कारण बिदामा बस्नुपर्ने भएपछि जिल्लाको नेतृत्व सुवेदीलाई जिम्मा दिइएको प्रहरीले जनाएको छ।

एसपी सुवेदी यसअघि उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत रहेका थिए। निर्वाचनको संवेदनशील समयमा जिल्ला प्रहरी कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालन गर्दा सुरक्षा व्यवस्थापनमा समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरी प्रधान कार्यालयले अनुभवी अधिकृत सुवेदीलाई पर्सामा पठाएको हो।

प्रहरीका अनुसार, पर्सा जिल्लाका विभिन्न मतदान स्थल र संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन नेपाल प्रहरीले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *