पर्सामा आजबाट मदिराजन्य पदार्थको बिक्री वितरण र सेवन पूर्ण निषेध, उल्लंघन गरे कारबाही हुने

समाचार

पर्सा, १५ फागुन ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले पर्सा जिल्लामा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।


जिल्ला प्रशासन कार्यालय पर्साले सूचना प्रकाशित गर्दै मादक पदार्थको बिक्री वितरण तथा सेवनले सार्वजनिक शान्ति सुरक्षा र निर्वाचनको वातावरणमा नकारात्मक असर पार्न सक्ने भएकाले यस्तो निर्णय गरिएको जनाएको छ।

कार्यालयका अनुसार मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग नेपालबाट प्रकाशित विज्ञप्ति, गृह मन्त्रालयबाट प्राप्त निर्देशन तथा जिल्ला सुरक्षा समितिको मिति २०८२ फागुन १४ गतेको निर्णयका आधारमा मिति २०८२ फागुन १५ गतेदेखि लागू हुने गरी मदिराजन्य पदार्थमा प्रतिबन्ध लगाइएको हो।

यो प्रतिबन्ध निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म लागू रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रतिबन्ध अवधिभर जिल्लाभित्र सार्वजनिक स्थानमा मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारपसार तथा सेवन गर्न पूर्णरूपमा निषेध गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलका अनुसार उक्त सूचनाको उल्लंघन गरी मदिराजन्य पदार्थ बिक्री वितरण वा सेवन गरेको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थामाथि प्रचलित कानून बमोजिम कडा कारबाही गरिनेछ।

प्रशासनले सबै व्यवसायी, सर्वसाधारण तथा सरोकारवालालाई उक्त निर्णयको पूर्ण पालना गर्न आग्रह गर्दै निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोग गर्न समेत अनुरोध गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *