चुनावी मुखमा सीमा सुरक्षामा कडाइ,सशस्त्रका  वीरगञ्ज गुल्मद्वारा करिब ५८ लाख बराबरको अवैध सामान बरामद

समाचार

वीरगञ्ज, १४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्साको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थामा उल्लेखनीय कडाइ गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत नम्बर १३ गण हे.क्वा. पर्साको सक्रियतामा सीमा सुरक्षा तथा तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिइएको हो।

गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीको निर्देशनमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्ज ले नियमित गस्ती, निगरानी र चेकजाँचलाई सुदृढ बनाउँदै उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ।

एक महिनामा ५८ लाखभन्दा बढीको बरामद:

सीमा सुरक्षा गुल्म वीरगञ्जका गुल्मपति डिएसपी विकास अधिकारीको कमान्डमा खटिएको टोलीले माघ १२ गतेदेखि फागुन १४ गतेसम्म करिब ३२ दिनको अवधिमा रु. ५८ लाख ७३ हजार ७ सय ७४ बराबर का विभिन्न अवैध तथा भन्सार छलीका सामान बरामद गरेको जनाएको छ।

* माघ महिनाको १२ गते देखि माघ मसान्तसम्म : रु. ३१ लाख ०१ हजार ४ सय ५४ बराबरको भन्सार छलीका सामान

*फागुन महिनाको १ गतेदेखि १४ गतेसम्म: रु. २७ लाख ७२ हजार ३ सय २० बराबरको भन्सार छलीका सामान

बरामद गरिएका सामानहरू आवश्यक कारबाही तथा राजस्व संकलनका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

विदेशी नागरिकको आवागमनमा निगरानी:

सीमा सुरक्षा गुल्मले तस्करी नियन्त्रणसँगै सीमा सुरक्षालाई प्राथमिकतामा राख्दै विदेशी नागरिकको आवागमनलाई समेत नियमन गरिरहेको जनाएको छ। भारतीय तथा अन्य विदेशी आगन्तुकहरूको विवरण संकलन, पहिचान र निगरानीलाई व्यवस्थित गरिएको छ।

सशस्त्र प्रहरी पर्साका प्रवक्ता मोहन निरौलाका अनुसार सीमा क्षेत्रमा २४ घण्टा सक्रिय गस्ती सञ्चालन गरिएको छ। अवैध गतिविधि, चोरी–तस्करी तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा विशेष ध्यान दिइँदै आएको छ।

निर्वाचन लक्षित विशेष सुरक्षा योजना:

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लाई सुरक्षित, मर्यादित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन विशेष सुरक्षा योजना लागू गरिएको सशस्त्र प्रहरीको भनाइ छ। निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

सर्वसाधारणलाई अनुरोध:

प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सशस्त्र प्रहरीले सर्वसाधारण तथा सवारी चालकलाई निम्न अनुरोध गरेको छः

१)चेकपोइन्ट क्षेत्रमा अनावश्यक रूपमा हर्न नबजाउन

२)चेकजाँचका क्रममा धैर्यपूर्वक सुरक्षाकर्मीलाई सहयोग गर्न

३)तोकिएको मार्ग मात्र प्रयोग गर्न

४)माग गरिएका कागजात तुरुन्त उपलब्ध गराउन

५)चेकिङ क्षेत्रमा अनावश्यक भीडभाड नगर्न

६)कुनै गुनासो वा समन्वयका लागि गुल्म कार्यालयमा सम्पर्क गर्न

तस्करी नियन्त्रणमा प्रभाव:

सुरक्षा निकायका अनुसार नियमित गस्ती, चेकजाँच र सूचनाको आधारमा सञ्चालन गरिएको अपरेसनले सीमा क्षेत्रमा तस्करी नियन्त्रणका साथै शान्ति–सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। कडाइका कारण अवैध कारोबारमा संलग्न समूहहरू नियन्त्रणमा आउन थालेका छन्।

यसले राजस्व चुहावट नियन्त्रण हुनुका साथै निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *