वीरगञ्ज, चैत १२ ।पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रस्थित नेपाल–भारत सीमा क्षेत्रमा दशगजा अतिक्रमण गरी बनाइएका संरचना हटाइएको छ।
स्थानीय प्रशासनको अनुसार मिति २०८२ चैत १२ गते दिउँसो २:२० बजेबाट सुरु गरिएको अतिक्रमण हटाउने अभियान सोही दिन ३:०० बजे सम्पन्न भएको जनाईएको छ।
नेपालतर्फ वीरगञ्ज महानगरपालिका–१६ इनर्वा र भारततर्फ पूर्वी चम्पारण जिल्लाको नुनियाडी ग्राम पञ्चायत–१ अहिर्वा बीच पर्ने सानो सीमा स्तम्भ नं. ३९०/२८ देखि ३९०/३१ सम्मको क्षेत्रमा नेपालतर्फको दशगजा मिचेर बनाइएका फुसका घरटहरा भत्काइएको हो।
उक्त अभियानका क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा सुरक्षा तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अभियानमा सशस्त्र प्रहरी बल नं. १३ गण मुख्यालय पर्साबाट सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पर्साका प्रमुख सन्तोष ढुङ्गेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेत, वीरगञ्ज महानगरपालिका–१६ का वडा सदस्य प्रमोद प्रसाद यादव लगायतको सहभागिता रहेको थियो।
त्यस्तै, सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको कमाण्डमा ११ जना तथा भारतीय पक्षबाट ४७ बटालियन ‘ए’ कम्पनी पन्टोका का इन्स्पेक्टर सचिन यादवको कमाण्डमा ५ जनाको टोली खटिएको जनाइएको छ।
सीमा क्षेत्रमा अतिक्रमण रोकथाम तथा व्यवस्थापनका लागि यस प्रकारका अभियानलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ।
