वीरगञ्ज, चैत १२ । पर्साको वीरगञ्जस्थित भन्सार मुख्य प्रवेशद्वार क्षेत्रमा स्रोत नखुलेको नगदसहित एक जना व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीका अनुसार मिति २०८२ चैत १२ गते दिउँसो करिब ३:३० बजे वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेटमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर पर्साबाट सप्रसनि मोहम्मद मुस्ताक अलीको कमाण्डमा खटिएको ७ जनाको चेकपोष्ट टोलीले विशेष सूचनाका आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गरेको थियो।
जाँचका क्रममा ना २ प ९५८७ नम्बरको हिरो होन्डा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका–८ गहवा बस्ने अन्दाजी ४४ वर्षीय अनिल कुमार शाहले मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा प्याक गरी लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली नगद बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद नगदमध्ये एक हजार दरका ९०० थान नोट गरी जम्मा ९ लाख रुपैयाँ रहेको छ।
उक्त रकमसहित शाहलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
