वीरगञ्ज, २२ चैत ।
हनुमान जयन्तीको अवसरमा चैत २१ गते शनिबार वीरगञ्जमा निकालिएको भव्य शोभा यात्रा यस वर्ष शान्त, सभ्य र अनुशासित वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।
विगतका वर्षहरूमा देखिएका सम्भावित सुरक्षा चुनौतीहरूका बीच यस पटक स्थानीय प्रशासन र सुरक्षा निकायले अपनाएको उच्च सतर्कता र समन्वयका कारण कुनै पनि अप्रिय घटना हुन नपाएको हो।
शोभा यात्रालाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण धर्म तथा समुदायका व्यक्तिहरूप्रति जिल्ला प्रहरी कार्यालय पर्साले हार्दिक आभार व्यक्त गरेको छ।
प्रशासनका अनुसार, हजारौँ श्रद्धालुको सहभागिता रहेको यो यात्रा घण्टाघर क्षेत्रबाट सुरु अलखिया , बिर्ता , छपकैया हुदै रेल्वे रोड भई पुनः घण्टाघरमा साँझ करिब ५ बजे निर्धारित मार्ग पूरा गर्दै समापन भएको थियो।
विगतमा वीरगञ्जमा आयोजना गरिएका केही धार्मिक शोभा यात्राका क्रममा सामान्य विवादले उग्र रूप लिँदा दुई समुदायबीच तनाव सिर्जना हुने, कर्फ्यू लगाउनुपर्ने अवस्था आउने तथा जनजीवन प्रभावित हुने घटनाहरू दोहोरिएका थिए। तर यस वर्ष सुरक्षा निकायले अपनाएको ‘उच्च सुरक्षा नीति’ र सूक्ष्म योजना कार्यान्वयनका कारण त्यस्ता कुनै पनि घटना दोहोरिन पाएनन्।
यस कार्यक्रमलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालयबीच प्रभावकारी समन्वय गरिएको थियो। सुरक्षा संयन्त्रले संवेदनशील क्षेत्रहरू पहिचान गरी विशेष निगरानी बढाएको थियो भने सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी पनि सुदृढ गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकको नेतृत्वमा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको थियो। कन्ट्रोल रुमबाटै सीसीटीभी क्यामेरा र ड्रोनमार्फत र्यालीको प्रत्येक गतिविधि अनुगमन गर्दै आवश्यक स्थानमा तत्काल सुरक्षाकर्मी परिचालन गरिएको थियो। यसले भीड व्यवस्थापन तथा सम्भावित झडप रोकथाममा महत्वपूर्ण भूमिका खेलेको प्रहरी स्रोतले जनाएको छ।
सुरक्षामा कुनै सम्झौता नगर्ने नीतिअनुसार र्यालीमा तरबार लगायतका प्रतिबन्धित सामग्री पूर्ण रूपमा निषेध गरिएको थियो। प्रवेश बिन्दुहरूमा कडाइका साथ जाँच गरिएको र शंकास्पद गतिविधिमाथि तत्काल निगरानी बढाइएको थियो।
स्थानीयवासीहरूले यस वर्षको व्यवस्थापनप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। “अघिल्ला वर्षहरूमा शोभा यात्रा हुँदा कतै तनाव उत्पन्न हुने हो कि भन्ने चिन्ता रहन्थ्यो, तर यस पटक प्रहरीको प्रभावकारी व्यवस्थापनका कारण हामीले पूर्ण रूपमा सुरक्षित महसुस गर्यौँ,” एक स्थानीयले बताए।
जिल्लाको शान्ति सुरक्षा कायम राख्दै ठूलो संख्यामा सहभागी भएको धार्मिक कार्यक्रमलाई बिना कुनै अप्रिय घटना सम्पन्न गराउन सफल भएको भन्दै एसपी पाठकसहित सम्पूर्ण सुरक्षा संयन्त्रको चौतर्फी प्रशंसा भइरहेको छ।
यस वर्षको शोभा यात्रा वीरगञ्जका लागि शान्ति, सहिष्णुता र सद्भावको सकारात्मक सन्देश बोकेको उदाहरणका रूपमा स्थापित भएको स्थानीय सरोकारवालाहरूले बताएका छन्।
