पर्सा,२९ चैत । कुखुरा फर्मसम्बन्धी विवादका कारण कामदारमाथि निर्घात कुटपिट गरेको आरोपमा एक जना साहुलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३० परसोतीपुर निवासी ३० वर्षीय अलिफलाम देवान रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार कुटपिटबाट घाइते हुनेमा सोही फर्ममा कार्यरत गाडी चालक २० वर्षीय सलमान देवान र सहचालक १९ वर्षीय नुर आलम देवान रहेका छन्।
कुखुरा फर्मको विषयलाई लिएर विवाद हुँदा साहु देवानले कामदारमाथि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
