काठमाडौं ,१२ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा बसोबास गर्दै आएका जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् हरेक वर्ष दोहोरिने बाढीको जोखिमबाट नागरिकको ज्यान जोगाउन अब ढिलाइ गर्न नहुने स्पष्ट पारेका हुन्।
प्रधानमन्त्री शाहले विगतमा प्रत्येक वर्ष बाढीका कारण हजारौँ नागरिकले ज्यान जोगाउन घरबार छोडेर भाग्नुपरेको तीतो यथार्थ स्मरण गराउँदै यस्तो अवस्था दोहोरिन नदिन दीर्घकालीन समाधान आवश्यक रहेको बताए। “अब पनि ठूलो दुर्घटनाको प्रतीक्षा गरेर बस्ने होइन, नागरिकको जीवन सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ,” उनले उल्लेख गरेका छन्।
उनका अनुसार थापाथली, गैरीगाउँ, मनोहरा लगायत नदीकिनारका बस्तीहरूमा अव्यवस्थित बसोबासका कारण ढल निकास प्रणालीमा समेत अवरोध पुगेको छ, जसले उपत्यकाको वातावरण प्रदूषण र दुर्गन्ध बढाएको छ। त्यसैले मानवीय संवेदनशीलता अपनाउँदै बल प्रयोग नगरी सुरक्षित स्थानमा स्थानान्तरण गरिने योजना अघि बढाइएको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण रोक्ने विषय सरकारका प्राथमिक एजेन्डाभित्र रहेको उल्लेख गर्दै वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर नीति अनुसार समाधान गरिने स्पष्ट पारे। देशभरका वास्तविक सुकुम्बासीलाई कानुनी प्रक्रिया पूरा गरी जग्गा वितरण गर्ने तयारीसमेत भइरहेको उनले जनाएका छन्।
“वर्षौँदेखि थाती रहेको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ, नागरिक ढुक्क हुन सक्ने अवस्था सिर्जना गरिनेछ,” प्रधानमन्त्री शाहको भनाइ छ।
