बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न पर्साको पोखरियामा ट्राफिक सचेतना अभियान तीव्र

समाचार

पर्सा,१२ बैशाख  । जिल्लामा पछिल्लो समय बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले पोखरिया बजार क्षेत्रमा ट्राफिक सचेतना अभियानलाई तीव्र बनाइएको छ। ईलाका प्रहरी कार्यालय पोखरियाले बजारका विभिन्न मुख्य स्थानहरूमा ट्राफिक सचेतनामूलक बोर्डहरू राख्नुका साथै व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ।


प्रहरीका अनुसार सडक सुरक्षालाई प्राथमिकतामा राख्दै चालक, सहचालक, मोटरसाइकल चालक तथा पैदल यात्रुहरूलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो। अभियानअन्तर्गत ट्राफिक नियमहरूको पालना, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, तीव्र गतिमा सवारी नचलाउने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने लगायतका विषयमा जानकारी दिइएको थियो।

ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीयवासी, व्यवसायी, विद्यार्थी तथा सवारी चालकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूलाई सडक दुर्घटनाबाट जोगिन अपनाउनुपर्ने सावधानीका उपायहरूबारे विस्तृत जानकारी दिइनुका साथै ट्राफिक नियम उल्लङ्घन गर्दा हुन सक्ने कानुनी कारबाहीबारे समेत सचेत गराइएको थियो।
प्रहरी निरीक्षक पौडेलले बढ्दो सवारी चाप, असावधानी र ट्राफिक नियमको बेवास्ताका कारण दुर्घटनाका घटना बढ्दै गएको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले सबैलाई जिम्मेवार भएर सवारी साधन चलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रहसमेत गरे।

ईलाका प्रहरी कार्यालय पोखरियाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। साथै, समुदायसँग सहकार्य गर्दै सडक सुरक्षालाई थप प्रभावकारी बनाउने योजना रहेको प्रहरीको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *