बारा ,२३ जेठ । विश्व वातावरण दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ।
मिति २०८३ जेठ २२ गते बेलुका ५ः३० बजे जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, प्रहरी नायव उपरीक्षक मिनबहादुर घले लगायत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत कार्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो। सहभागीहरूले वृक्षारोपणलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्ने अभियानका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका थिए।
जिल्ला प्रहरी कार्यालय बाराले वातावरण संरक्षणमा प्रहरी संगठनको सामाजिक उत्तरदायित्वलाई जोड दिँदै यस्ता कार्यक्रमले हरित वातावरण निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति प्रहरी संगठनको प्रतिबद्धतालाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।
