८ वर्षदेखि रोकिएको नगवा पोखरी चौकको बाटो फराकिलो, स्थानीयवासीको सक्रियतामा काम सम्पन्न

समाचार

वीरगञ्ज, जेठ ३१।  वीरगञ्ज महानगरपालिका वडा नं. १६ अन्तर्गत नगवा पोखरी चौक गाउँमा प्रवेश गर्ने मुख्य सडक ८ वर्षदेखि विभिन्न कारणले फराकिलो हुन नसकेको अवस्थामा अन्ततः स्थानीयवासी र युवाहरूको सक्रिय सहभागितामा सडक विस्तारको कार्य सम्पन्न भएको छ।

वडा नं. १६ का वडा अध्यक्ष प्रशुराम चौरसियाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गाउँमा प्रवेशका लागि अत्यावश्यक मानिएको उक्त बाटो फराकिलो बनाउने कार्य आज सफलतापूर्वक सम्पन्न भएको बताएका हुन्।
उनले विकास निर्माणका काम कसैको पर्खाइमा नरोकिने उल्लेख गर्दै गाउँको समग्र हित, सहज आवागमन र भविष्यको समृद्धिका लागि स्थानीय तह र समुदायबीचको सहकार्य महत्वपूर्ण रहेको बताए।

सडक विस्तार सम्पन्न भएपछि गाउँमा आवतजावत सहज हुनुका साथै आपतकालीन सेवा, सवारी सञ्चालन तथा स्थानीय बासिन्दाको दैनिक जीवनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

वडा अध्यक्ष चौरसियाले विकासको अभियानलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण गाउँवासी, युवा तथा सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै एकता र सहकार्य कायम रहने विश्वास व्यक्त गरेका छन्।

स्थानीयवासीहरूले वर्षौंदेखिको समस्या समाधान भएको भन्दै खुसी व्यक्त गरेका छन्। उनीहरूका अनुसार लामो समयदेखि साँघुरो रहेको सडकका कारण आवागमनमा समस्या हुँदै आएको थियो भने अहिले सडक फराकिलो बनेसँगै गाउँको विकासले नयाँ गति लिने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *