रौतहट, असार १ — रौतहट प्रहरीले लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूबाट ५ किलो ५५ ग्राम गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–४ गढवा निवासी राकेश कुमार कुशवाहा र सोही स्थानका सुनिल कुमार बैठा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट BR 05S 6609 नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल, एक पोका गाँजा जस्तो देखिने पदार्थ (५ किलो ५५ ग्राम) तथा POCO कम्पनीको मोबाइल फोन बरामद गरिएको छ।
घटनापछि दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। यसका लागि रौतहट जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै यस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।
