वीरगञ्ज, १५ असार। जिल्ला प्रहरी कार्यालय पर्साबाट काज सरुवा भई मानव बेचबिखन अनुसन्धान ब्यूरो, काठमाडौं जान लाग्नुभएका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतलाई सम्मानपूर्वक बिदाइ गरिएको छ।
आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकले डीएसपी बस्नेतलाई मायाको चिनो प्रदान गर्दै सफल कार्यकालको प्रशंसा गर्नुभयो।
कार्यक्रममा एसपी पाठकले पर्सामा कार्यरत रहँदा डीएसपी बस्नेतले संगठनको गरिमा बढाउने, शान्ति सुरक्षा कायम राख्ने तथा नागरिकमैत्री प्रहरी सेवामा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्नुभयो।
बिदाइ कार्यक्रममा कार्यालयका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले डीएसपी बस्नेतको व्यावसायिक कार्यशैली, इमान्दार सेवा र समर्पणको प्रशंसा गर्दै आगामी जिम्मेवारीमा समेत उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका थिए।
मानव बेचबिखन अनुसन्धान ब्यूरो, काठमाडौंमा नयाँ जिम्मेवारी सम्हाल्न जान लाग्नुभएका डीएसपी बस्नेतलाई जिल्ला प्रहरी कार्यालय पर्साले सम्मानसहित भावपूर्ण बिदाइ गरेको जनाएको छ।
