बारामा भीषण सडक दुर्घटना : १७ वर्षीय स्कुटर चालक सराफको मृत्यु, दुई जना घाइते

समाचार

बारा, १५ असार । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित एयरपोर्ट नजिक सिमरा–डुमरवाना भित्री सडकखण्डमा आइतबार भएको सवारी दुर्घटनामा १७ वर्षीय एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना २८ प ५८५५ नम्बरको स्कुटरले अगाडि गुडिरहेको प्र.२–०३–००१ त ३७७३ नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आइरहेको म.प्र.०३–०४१ प २२७४ नम्बरको मोटरसाइकलसँग ठक्कर खाएको थियो। ठक्करपछि स्कुटर ट्र्याक्टरमुनि पसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक पर्साको वीरगञ्ज महानगरपालिका–२९ निवासी १७ वर्षीय लक्की सराफलाई प्रारम्भिक उपचारपछि एलएस न्युरो अस्पताल, परवानीपुर लगिएको थियो। उपचारकै क्रममा साँझ करिब ६:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
स्कुटरमा पछाडि सवार वीरगञ्ज–२ छपकैयाका १७ वर्षीय दिलसाद देवान सामान्य घाइते भएका थिए। उनको नगर अस्पताल सिमरामा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

यस्तै मोटरसाइकल चालक जितपुरसिमरा–२३ निवासी २९ वर्षीय रइफुल आलम अन्सारीको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनको सिटी स्टार अस्पताल सिमरामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा रिफर गरिएको छ।

दुर्घटनामा संलग्न ट्र्याक्टर चालक जितपुरसिमरा–४ औराहाका ७० वर्षीय शिवराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेका छन्।

घटनाबारे इलाका प्रहरी कार्यालय सिमराले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *