बाँके, १५ असार । बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाइको हत्या गरी शव नहरमा फालेर फरार भएका एक युवकलाई प्रहरीले भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ।
प्रहरीका अनुसार कोहलपुर नगरपालिका–४ गोहवाका २० वर्षीय बिनोद चौधरीले असार १४ गते साँझ करिब ७ बजे आफ्ना अन्दाजी २६ वर्षीय सहोदर दाइ मनोज चौधरीलाई कुटपिट गरी हत्या गरेका थिए। हत्या गरेपछि उनले शव नजिकैको नहरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनापछि फरार भएका बिनोदलाई प्रहरीले तीव्र खोजतलासका क्रममा आज बिहान करिब ६:३० बजे कोहलपुर नगरपालिका–१५ चन्हवाबाट भारततर्फ भाग्ने प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको हो।
मृतक मनोज चौधरीको शव परीक्षण (पोस्टमार्टम) का लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको कारण र हत्याको वास्तविक पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
