बारा, १ कार्तिक ।
सशस्त्र प्रहरी बल, नेपाल बाराका प्रमुख एसपी खुमबहादुर केसीको नेतृत्वमा जिल्लाभर तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिइएको छ। यही अभियान अन्तर्गत सशस्त्र प्रहरीको विभिन्न बिओपी (BOP) तथा सुरक्षा गुल्मबाट खटिएका टोलीहरूले पछिल्लो केही दिनमा रू. ५ लाख ९० हजार बराबरको भन्सार छलिएका अवैध सामानहरू र काठ बरामद गरेका छन्।
विभिन्न स्थानबाट सामान बरामद
सशस्त्र प्रहरी बिओपी गोलागञ्जबाट खटिएको टोलीले मिति २०८२ साल असोज ३१ गते दिउँसो करिब १४:१५ बजे सिम्रौनगढ नगरपालिका–९ बसवरिया पिठुवाघाट सीमाक्षेत्रबाट भारततर्फबाट अबैध रूपमा ल्याइँदै गरेको अन्दाजित मूल्य रू. ९७,००० बराबरको कपडा र किराना जन्य सामान नियन्त्रणमा लिएको थियो।
त्यसैगरी, सीमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको टोलीले मिति २०८२/०६/३० गते साँझ १९:३५ बजे कलैया उपमहानगरपालिका–१० मटिअर्वा नहर चोकमा यात्रुवाहक अटोहरू रोकी चेकजाँच गर्ने क्रममा भारतबाट ल्याइँदै गरेको अन्दाजित मूल्य रू. ५५,००० बराबरको झिलिमिली बत्ती, भाँडावर्तन र मोबाईल ब्याक लाइट बरामद गरेको थियो।
यस्तै, सोही टोलीले मिति २०८२/०६/३१ गते बिहान ०७:४५ बजे विश्रामपुर गाउँपालिका–३ मुसहर्वा डम्पिङ क्षेत्रबाट मो.सा. (मोटरसाइकल) को प्रयोग गरी ल्याइँदै गरेको अन्दाजित मूल्य रू. २०,००० बराबरको कपाल काट्ने मेसिन र मोबाईल स्ट्यान्ड बरामद गरेको थियो।
त्यो दिनकै राति, मिति २०८२/०६/३१ गते साँझ २०:५० बजे सोही मटिअर्वा नहर चोकमा पुनः चेकजाँचका क्रममा भारतबाट ल्याइँदै गरेको अन्दाजित मूल्य रू. ६५,००० बराबरको ९ रोल कपडा र २ बोरा रेडिमेड कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
काठ पनि बरामद
मिति २०८२/०६/२९ गते साँझ १७:१५ बजे कोल्हवी नगरपालिका–६ परसौनाबाट पिपरा जाने बाटोमा रहेको कुलोमा लुकाइराखिएको २५.५ क्युफिट (४ वटा सिसौंको गोलिया) काठ सशस्त्र प्रहरी सुरक्षा बेस कोल्हवीबाट खटिएको टोलीले फेला पारेको थियो। उक्त काठको अन्दाजित मूल्य रू. ४०,८०० रहेको र यसलाई आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय कोल्हवीमा बुझाइएको बताइएको छ।
कपडा र मोबाईलका सामान पनि नियन्त्रणमा
यस्तै, मिति २०८२/०६/३० गते बिहान ११:४५ बजे फेटा गाउँपालिका–१ त्रिवेणी चोकमा बिओपी बरैनियाबाट स.प्र.नि. सन्दीप केसीको कमान्डमा खटिएको टोलीले अन्दाजित मूल्य रू. २,०२,३४० बराबरको कपडा र मोबाईलका सामान नियन्त्रणमा लिएको थियो। प्रहरीले चेकजाँच गर्ने क्रममा संलग्न व्यक्तिहरू मोटरसाइकल लिएर फरार भएको जनाएको छ।
जुत्ता/चप्पलसमेत बरामद
त्यसैगरी, मिति २०८२/०६/३१ गते बिहान ०९:२० बजे कलैया उपमहानगरपालिका–१० मटिअर्वा भण्डारी चोकमा सोही सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले भारतबाट अबैध रूपमा ल्याइँदै गरेको अन्दाजित मूल्य रू. ९०,००० बराबरको ३ बोरा जुत्ता/चप्पल बरामद गरेको छ।
भन्सार कार्यालयमा बुझाइने
बरामद गरिएका सबै अवैध वस्तुहरू आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालय वीरगञ्जमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी प्रमुख एसपी खुमबहादुर केसीले बारामा तस्करी नियन्त्रणलाई प्राथमिकताका साथ अघि बढाइएको बताउँदै, सीमाक्षेत्रहरूमा निगरानी, गस्ती तथा सूचनाको आधारमा हुने अपरेशनलाई अझ सशक्त रूपमा सञ्चालन गरिने बताएका छन्।
उनका अनुसार, “सीमा सुरक्षामा कुनै पनि प्रकारको कमजोरी हुन दिइने छैन। भन्सार छलि, वन उपभोग्य वस्तुको अवैध निकासी, र अवैध व्यापार विरुद्ध सशस्त्र प्रहरी सदैव सजग छ।”
