पर्सा, असार , १९ । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–१६ स्थित फुलबारी टोलमा लुकाइ छिपाइ राखिएको ठूलो परिमाणको अवैध लागुऔषध गाँजा बरामद गरिएको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल गुल्म बीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुव्वाको कमाण्डमा खटिएको टोली, डग स्क्वाडको ‘दृष्टि’ नामक DRUGS DETECTION प्रशिक्षित पोथी कुकुरको सहयोगमा तथा प्रहरी चौकी नगवाका प्रहरी नायब निरीक्षक अजय कुमार राम, बसपार्क प्रहरी चौकीका नायब निरीक्षक धिरेन्द्र थपलिया र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको फरेन्सिक टोली (SOCO) सहितको संयुक्त टोलीले छापा मारेको थियो।
टोलीले फुलबारी टोलमा अहमद मियाको घर नजिकैको भित्री सडकको छेउमा रहेको खाली जग्गाबाट बेवारिसे अवस्थामा लुकाइएको २४ किलो ५८६ ग्राम गाँजा र २ किलो ६४२ ग्राम गाँजाको डाँठ बरामद गरेको हो।
बरामद गरिएको लागुऔषध आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वडा प्रहरी कार्यालय विर्तामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
