असार ८ गते एयरपोर्ट गेट नजिक रुख ढलेपछि अवरुद्ध सडक उपत्यका विपद् उद्धार गणद्वारा तत्काल सुचारु

समाचार

काठमाडौँ, असार ९।  काठमाडौं महानगरपालिका–९ अन्तर्गत एयरपोर्ट गेट नजिक आज बिहान परेको अविरल वर्षाका कारण एक ठूलो रुख ढली सडक अवरुद्ध भएको थियो । वर्षायामको कारण कमजोर भएको माटो र हावाहुरीका कारण सो रुख मुख्य सडकमा ढल्दा सवारी आवागमन ठप्प भएको थियो।

रुख ढलेपछि सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ उपत्यका विपद् उद्धार गण, सिनामंगलकाे सुरक्षा फौज (गण नं. २०) तत्काल घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो । उद्धार टोलीले रुखलाई टुक्राटुक्रा पारेर सडक छेउ लगाइ सडक सञ्चालन योग्य बनाएपछि केही घण्टामै सवारी साधनहरु पुनः सञ्चालन भएका थिए ।

गणका एक जना अधिकारीका अनुसार, रुख ढलेपछि तत्काल ट्राफिक प्रहरी र स्थानीय बासिन्दासँग समन्वय गरी सडक खुलाउने कार्यलाई प्राथमिकता दिइएको थियो । “वर्षायाममा यस किसिमका जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन र सुरक्षित रहन सबैलाई आग्रह गर्छौँ,” उनले भने ।

सडक पुनः सञ्चालन भएपछि यात्रुहरुलगायत सर्वसाधारणले राहत महसुस गरेका छन् । हाल सडकको अवस्था सामान्य रहे पनि निरन्तर वर्षाका कारण अन्यत्र पनि यस्ता घटना हुन सक्ने भन्दै सम्बन्धित निकायले सतर्कता अपनाउन तथा कुनै पनि जोखिमपूर्ण अवस्थाबारे जानकारी दिन अनुरोध गरेको छ ।

उपत्यका विपद् उद्धार गणले भविष्यमा पनि यस्ता आकस्मिक घटनाहरूमा तत्काल उद्धार तथा सहजिकरणका लागि तयारी अवस्थामा रहेको जानकारी दिएको छ । साथै महानगरवासीलाई वर्षायामका समयमा सुरक्षित रहन, जोखिमयुक्त स्थानहरूमा सतर्क रहन र आकस्मिक अवस्था परेमा नजिकको प्रहरी वा विपद् उद्धार निकायलाई खबर गर्न आग्रह समेत गरेको छ ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *