बिरगंज, असार ९ – बिरगंज महानगरपालिकाको १७औँ नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभामा महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँ अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन्।
उपप्रमुख आलमले प्रस्तुत गरेको बजेट अनुसार चालु खर्चतर्फ २ अर्ब २६ करोड ५० लाख ४९ हजार (७०.२४ प्रतिशत), पूँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख (२८.६४ प्रतिशत) तथा वित्तीय व्यवस्थापनतर्फ ३ करोड ६४ लाख (१.१२ प्रतिशत) विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा झन्डै ३३ करोड बढी छ । चालु आर्थिक वर्षका लागि बिरगंज महानगरको बजेट २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँ थियो ।
उपप्रमुख आलमका अनुसार आगामी आर्थिक वर्षको बजेटका मुख्य प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार तथा डिजिटलमैत्री सेवा प्रवाह रहेका छन् ।
बजेट स्रोततर्फ आन्तरिक राजस्वबाट एक अर्ब १५ करोड, संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख, संघीय राजस्व बाँडफाँटबाट २३ करोड ७८ लाख, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ लाख, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १३ हजार, घरजग्गा रजिष्ट्रेशन शुल्कबाट २५ करोड तथा नगद मौज्दाबाट १५ करोड रुपैयाँ जुटाइने उपप्रमुख आलमले जानकारी दिए ।
यसअघि नगरसभामा महानगर प्रमुख राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सभामा प्रमुख प्रशासकीय अधिकृत अरबिन्द्रलाल कर्ण, ३२ वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, कर्मचारी, सञ्चारकर्मी लगायत अन्य सरोकारवाला सहभागी थिए भने उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिए ।