अवैध सवारी कर असुलीमा मुख्यमन्त्रीद्वारा छड्के अनुगमन, तीन जना पक्राउ

समाचार

पर्सा ,असार ९ । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिँहले भारतबाट आएका सवारी साधनहरूबाट तोकिएको भन्दा बढी सवारी कर असुली भइरहेको व्यापक जनगुनासोपछि सोमबार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको नयाँ रोडस्थित विभिन्न ढाटहरूमा आकस्मिक अनुगमन गरेका छन्।

अनुगमनका क्रममा केही ढाटहरूले भारतीय गाडीहरूसँग अवैध रूपमा बढी सवारी कर असुली गरिरहेको फेला परेपछि मुख्यमन्त्री सिँहले तत्काल कारबाही गर्न निर्देशन दिएका थिए। सो क्रममा तीन जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको मुख्यमन्त्री सचिवालयले जनाएको छ।

मुख्यमन्त्री सिँहले यातायात क्षेत्रमा हुने अवैध असुली तथा अनियमितता अन्त्यका लागि प्रदेश सरकार सधैं सतर्क रहेको बताउँदै यस्ता गलत कार्यमा संलग्न जो कोहीलाई पनि कडा कारबाही गरिने स्पष्ट पारेका छन्। साथै, उनले सवारी चालक तथा आमजनतालाई पनि कुनै अवैध शुल्क नतिर्न र तत्काल जानकारी गराउन अनुरोध गरेका छन्।

यस घटनापछि सवारी चालक तथा सर्वसाधारणले मुख्यमन्त्रीको कदमलाई स्वागत गरेका छन् भने अन्य कर असुली केन्द्रहरूमा पनि सतर्कता बढाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *