रसीद आलम
बारा, असार १९ – बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल्स उद्योगको भट्टीमा बुधबार राति शक्तिशाली विस्फोट भएको छ। स्थानीय समयअनुसार राति करिब ९:३० बजे कबाडी फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो।
स्थानीयवासीहरूका अनुसार विस्फोट अत्यन्तै शक्तिशाली थियो, जसको आवाज टाढासम्म सुनिएको थियो र आसपासको जमिनसमेत थर्किएको थियो। विस्फोटपछि सुरक्षाकर्मी र उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेका थिए।
इलाका प्रहरी कार्यालय सिमराका डीएसपी बेदप्रकाश जोशीले भट्टीमा विस्फोट भएको पुष्टि गर्दै भारत बिहार राज्यको सितामढी निवासी ३५ वर्षीय कामदार अजय बैठा सामान्य घाइते भएको जानकारी दिएका छन्। बैठाको हातमा चोट लागेको र उनको उपचार एल.एस. न्युरो अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
हालसम्म विस्फोटको कारण स्पष्ट भइसकेको छैन। घटनास्थलको प्रारम्भिक अवलोकनपछि प्रहरी र उद्योग व्यवस्थापनले विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान जारी राखेको जनाइएको छ। विस्फोटबाट भएको भौतिक क्षतिको विवरण समेत संकलन भइरहेको बारा प्रहरीले जनाएको छ।
