सशस्त्र प्रहरी बल नं. ४ मुक्तिनाथ वाहिनीको २५औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

समाचार

पोखरा, असार २। सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ वाहिनी मुख्यालय, कास्कीको २५औँ स्थापना दिवस समारोह भव्य रूपमा सम्पन्न भएको छ।

समारोहमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथि तथा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले मुलुकको शान्ति, सुरक्षा, विपद् व्यवस्थापन तथा सीमा सुरक्षामा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँले नागरिकको सुरक्षाका लागि सशस्त्र प्रहरीले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले जिम्मेवारी निर्वाह गर्न शुभकामना व्यक्त गर्नुभयो।

त्यसैगरी, सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले संगठनको व्यावसायिकता, अनुशासन र सेवा भावलाई थप सुदृढ बनाउँदै राष्ट्र र जनताको सेवामा समर्पित रहन सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभयो।

स्थापना दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने राष्ट्रसेवक कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।

नं. ४ मुक्तिनाथ वाहिनी मुख्यालयले गण्डकी प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने, सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा खोज तथा उद्धार कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

कार्यक्रममा सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरू, जनप्रतिनिधिहरू, सरकारी कार्यालयका प्रमुखहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *