पर्वत, असार ३ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेल ले पर्वत जिल्लामा रहेका सहिद परिवारका सदस्यहरुसँग भेटघाट गर्नुभएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्की मातहतका कार्यालयहरूको निरीक्षण तथा अनुगमनका क्रममा महानिरीक्षक पौडेलले पर्वतको कुस्मा नगरपालिका–७ खरेहास्थित सहिद परिवारका सदस्यहरुसँग भेट गरी उनीहरूको अवस्था, आवश्यकता तथा सुझावबारे जानकारी लिनुभएको हो।
भेटघाटका अवसरमा महानिरीक्षक पौडेलले राष्ट्रको सुरक्षा र सेवाका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै सहिद परिवारप्रति राज्य र संगठन सधैं संवेदनशील तथा जिम्मेवार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सहिद परिवारको सम्मान, हकहित तथा कल्याणका लागि सशस्त्र प्रहरी बल निरन्तर प्रयासरत रहेको समेत बताउनुभयो।
कार्यक्रममा सहिद परिवारका सदस्यहरूले आफ्ना अनुभव तथा सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले संगठनको तर्फबाट प्राप्त भइरहेको सम्मान र सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।
सशस्त्र प्रहरी बलले सहिदहरूको योगदानको उच्च सम्मान गर्दै उनीहरूका परिवारसँग नियमित सम्पर्क, सहयोग तथा आत्मीय सम्बन्ध विस्तार गर्ने कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।
