वीरगञ्ज, ४ असार । पर्सामा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै गएको नेपाल प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्न सफलता हासिल गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकको निर्देशन तथा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलको कुशल कमाण्डमा ३७० किलोग्राम गाँजा बरामद गरिएको हो।
प्रहरीका अनुसार मिति २०८३ असार ३ गते राति करिब ९ः१० बजे इलाका प्रहरी कार्यालय पोखरिया तथा प्रहरी चौकी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित नेपाल–भारत सीमा क्षेत्र नजिक विशेष निगरानी तथा गस्तीका क्रममा उक्त परिमाणको गाँजा फेला पारेको थियो।
सीमावर्ती क्षेत्रमा रहेको पानी नभएको नहरको खाल्डो तथा झाडीभित्र बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गाँजा २५ वटा पोका प्लास्टिकमा प्याक गरिएको अवस्थामा फेला परेको थियो। तौल गर्दा कुल ३७० किलोग्राम गाँजा रहेको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करीको सम्भावित गतिविधिबारे प्राप्त विशेष सूचनाका आधारमा निगरानी बढाइएको थियो। सोही क्रममा शंकास्पद स्थानमा खोजतलास गर्दा ठूलो परिमाणको गाँजा फेला परेको हो। गाँजा कसले र कुन उद्देश्यले त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्लो समय लागूऔषध नियन्त्रण, तस्करी रोकथाम तथा सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकतामा राख्दै विभिन्न अभियान सञ्चालन गरिरहेको छ। प्रहरी उपरीक्षक सुदीप राज पाठकको नेतृत्वमा जिल्लाभर लागूऔषध विरुद्धको अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेका बेला यो बरामदगीलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको टोलीले समयमै सक्रियता देखाउँदा ठूलो परिमाणको लागूऔषध बरामद गर्न सफल भएको स्थानीय सुरक्षा अधिकारीहरूको भनाइ छ। सीमावर्ती क्षेत्रमा हुने अवैध लागूऔषध कारोबार नियन्त्रणका लागि प्रहरीको निगरानी अझ कडा बनाइएको समेत जनाइएको छ।
बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय पोखरियाको नियन्त्रणमा राखिएको छ भने घटनाको सम्बन्धमा संलग्न व्यक्ति तथा तस्करी सञ्जालको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पर्सा जिल्लामा पछिल्ला दिनहरूमा लागूऔषध नियन्त्रण अभियान अन्तर्गत लगातार ठूलो परिमाणमा गाँजा तथा अन्य लागूऔषध बरामद भइरहेका छन्। यस घटनाले सीमा क्षेत्र हुँदै हुने लागूऔषध ओसारपसार नियन्त्रणमा प्रहरी सक्रिय रहेको सन्देश दिएको छ।
