बारा, असार ८। बारा प्रहरीले अवैध रूपमा चोरी निकासी गर्न लागिएको ठूलो परिमाणको खरबुजाको बिउसहित एक ट्रक नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आईतवार राति करिब ८:३० बजे सिम्रौनगढ नगरपालिका–६ पावर हाउस क्षेत्र मा सिम्रौनगढबाट महोत्तरीतर्फ जाँदै गरेको ना ४ ख ८३४१ नम्बरको ट्रक लाई इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको गस्ती टोलीले रोकी जाँच गरेको थियो।
जाँचका क्रममा ट्रकभित्र ३१४ बोरा बराबर १२ हजार ५६० किलोग्राम खरबुजाको बिउ फेला परेको प्रहरीले जनाएको छ। उक्त बिउको अनुमानित मूल्य रु २२ लाख ९९ हजार २३३ रहेको छ।
प्रहरी अनुसन्धानबाट उक्त बिउ अवैध रूपमा चोरी निकासी गर्न लागिएको खुल्न आएपछि बिउसहित ट्रक नियन्त्रणमा लिइएको हो। बरामद गरिएको ट्रकको अनुमानित मूल्य रु ३५ लाख रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको खरबुजाको बिउ र ट्रक गरी कुल रु ५७ लाख ९९ हजार २३३ बराबरको सामान नियन्त्रणमा लिइएको छ। साथै ट्रक चालक परवानीपुर गाउँपालिका–३ निवासी ३१ वर्षीय प्रवेज आलम लाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी मिन बहादुर घले ले घटनाबारे जानकारी दिँदै अवैध निकासी तथा राजस्व छलीविरुद्ध प्रहरीको निगरानी र कारबाहीलाई थप कडा बनाइएको बताए।
