कार्यवाहक प्रमुख इम्तियाज आलमको पहल सफल : वीरगञ्जको सरसफाइ विवाद अन्त्य, आन्दोलन फिर्ता

समाचार

वीरगञ्ज, असार १४ । वीरगञ्ज महानगरपालिकाको सरसफाइ सेवा अवरुद्ध हुने अवस्था सिर्जना भएको विवाद अन्ततः सहमतिमा टुंगिएको छ। कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको सक्रिय पहल तथा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहोराको उपस्थितिमा भएको वार्तापछि आन्दोलनरत सरसफाइकर्मीहरूले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिँदै आइतबारदेखि नै काममा फर्किएका छन्।

महानगरपालिकाको सभाहलमा जनप्रतिनिधि, वडा अध्यक्ष, कर्मचारी, ठेकेदार कम्पनी र सरसफाइकर्मीका प्रतिनिधिबीच भएको वार्ताले लामो समयदेखि देखिएको विवाद समाधान गर्दै फोहरमैला व्यवस्थापनलाई पुनः नियमित बनाएको हो।

कार्यवाहक प्रमुख आलमका प्रेस सल्लाहकार सदाब हुसैनका अनुसार सहमतिपत्रमा सरसफाइकर्मीका प्रमुख मागहरूलाई सम्बोधन गरिएको छ। सहमतिअनुसार प्रत्येक महिनाको ५ देखि १० गतेभित्र पारिश्रमिक अनिवार्य रूपमा भुक्तानी गरिने, नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक सुनिश्चित गरिने तथा ८ घण्टाभन्दा बढी काम गरेमा ओभरटाइम सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ।

त्यस्तै, कामका क्रममा घाइते हुने श्रमिकको प्राथमिक उपचार खर्च ठेकेदार कम्पनीले व्यहोर्ने, नाइके वा ठेकेदार पक्षबाट अभद्र व्यवहार गर्न नपाइने, तथा आवश्यक सुरक्षा सामग्री समयमै उपलब्ध गराइने सहमति भएको छ।
सहमतिमा प्राविधिक कारणले नागरिकता नबनाएका तर नेपाली रैथाने सरसफाइकर्मीलाई कामबाट नहटाइने मानवीय निर्णयसमेत समावेश गरिएको छ।

सम्झौतापत्रमा ठेकेदार कम्पनी **एन.के. इन्टरनेशनल म्यानेजमेन्ट प्रा.लि.**का सञ्चालक शिवकुमार गुप्ता तथा सरसफाइकर्मीका प्रतिनिधिहरू भुवाली मलिक, पिन्टु मलिक, चन्दन मलिक, किसन मलिक, चन्दा देवी, अखिलेश मलिक, विशाल मलिक र **किसन मलिक (ड्राइभर)**ले हस्ताक्षर गरेका छन्।

प्रेस सल्लाहकार हुसैनका अनुसार कार्यवाहक प्रमुख आलमको समन्वयकारी भूमिका र प्रमुख प्रशासकीय अधिकृत बोहोराको विशेष पहलले वार्तालाई सफल निष्कर्षमा पुर्‍याएको हो। सहमतिसँगै वीरगञ्जको सरसफाइ सेवा पुनः सुचारु भएको छ भने महानगरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने अभियानले निरन्तरता पाउने विश्वास व्यक्त गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *