वीरगञ्ज,२५ असार । मधेश प्रदेशमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा प्रहरी सेवालाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कार्यसम्बन्धी समीक्षा गोष्ठी–२०८३ सम्पन्न भएको छ।
बिहीबार (असार २५) आयोजित गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागका प्रमुख हिमालय कुमार श्रेष्ठ को प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख ओम प्रसाद अधिकारी, मधेश प्रदेशअन्तर्गतका जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।
समीक्षा गोष्ठीमा प्रदेशभर सञ्चालन भएका प्रहरी गतिविधि, शान्ति सुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन, सेवा प्रवाह तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो। साथै नागरिकको विश्वास अभिवृद्धि गर्दै प्रभावकारी प्रहरी सेवा प्रदान गर्न आवश्यक रणनीति र कार्यदिशाबारे पनि छलफल भएको प्रहरीले जनाएको छ।
गोष्ठीले प्रदेशभर प्रहरी संगठनबीच समन्वय, कार्यसम्पादनको मूल्याङ्कन तथा आगामी दिनमा अझ प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
