वीरगञ्ज,१३ साउन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठक को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाको मिति २०८३ साउन १३ गते को पत्रादेशअनुसार उहाँलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, काठमाडौंमा काज सरुवा गरिएको हो।
पर्सामा करिब ११ महिनासम्म प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा एसपी पाठकले जिल्लाको शान्ति–सुरक्षा सुदृढ बनाउन, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा संगठनको नीति–निर्देशनअनुसार प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साले उहाँको सम्मानमा “बिदाइ तथा फेरि भेटौँला” कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा प्रहरी अधिकृत तथा कर्मचारीहरूले उहाँको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।
यसैबीच, सोही पत्रादेशअनुसार जिल्ला प्रहरी परिसर काठमाडौं बाट काज सरुवा भई प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ।
मिति २०८३ साउन १३ गते जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएपछि एसपी भट्टराईलाई कार्यालयमा स्वागत गरिएको थियो। त्यसक्रममा उहाँले सिनियर तथा जुनियर प्रहरी अधिकृतहरूसँग परिचयात्मक भेटघाट गर्दै जिल्लाको शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
