सुर्खेत ,१३ साउन । सामाजिक सञ्जालमार्फत आफूलाई ‘पाथीभरा माता’ भनेर चिनाउँदै धार्मिक आस्थासँग सम्बन्धित भ्रमपूर्ण भिडियो तथा तस्बिर सार्वजनिक गरेको आरोपमा सुर्खेत प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–३ निवासी करिब २४ वर्षीय समिर थापा (आफूलाई ‘पाथीभरा माता’ भनेर चिनाउने) लाई बुधबार (२०८३ साउन १३) राति करिब ८:३० बजे प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा सामाजिक सञ्जालमार्फत आम नागरिकमा भ्रम सिर्जना हुने, धार्मिक आस्थामाथि असर पर्ने तथा सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्न सक्ने प्रकृतिका भिडियो र तस्बिर प्रसारण गरेको देखिएको छ। उक्त गतिविधिका कारण अनावश्यक विवाद उत्पन्न हुन सक्ने अवस्था देखिएपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कविन्द्र सिंह बोहराका अनुसार पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको पनि जनाएको छ।
