अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस : वीरगञ्ज नाकाबाट १५ वर्षीया भारतीय बालिका उद्धार, नेपाल–भारत सहकार्यको उदाहरण

समाचार

वीरगञ्ज, १४ साउन। आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। नेपालमा पनि पर्सासहित भारतसँग जोडिएका विभिन्न प्रमुख सीमा नाकाहरूमा सरकारी निकाय, सुरक्षा निकाय तथा मानव बेचबिखनविरुद्ध क्रियाशील संघ–संस्थाहरूले संयुक्त रूपमा सचेतना अभियान सञ्चालन गर्दै जोखिममा रहेका महिला तथा बालबालिकाको उद्धार र संरक्षणमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।

नेपाल–भारतबीच रहेको ऐतिहासिक ‘बेटी–रोटी’ सम्बन्धलाई सुरक्षित, मर्यादित र थप सुदृढ बनाउने उद्देश्यका साथ सीमा क्षेत्रमा निरन्तर निगरानी बढाइएको छ। स्थानीय प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा विभिन्न गैरसरकारी संस्थाबीचको समन्वयका कारण मानव बेचबिखनका प्रयासहरू नियन्त्रण गर्न उल्लेखनीय सफलता प्राप्त भइरहेको सम्बन्धित निकायहरूले जनाएका छन्।

यही क्रममा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध लामो समयदेखि सक्रिय संस्था आफन्त नेपाल, वीरगञ्ज ले सशस्त्र प्रहरी बल नेपालसँगको संयुक्त प्रयासमा एक १५ वर्षीया भारतीय बालिका लाई सम्भावित मानव बेचबिखनबाट सुरक्षित उद्धार गरेको छ।

आफन्त नेपालका अनुसार साउन १३ गते बुधबार राति करिब ८ बजे पर्साको मितेरी पुल क्षेत्रमा शंकास्पद अवस्थामा फेला परेकी ती बालिकालाई सशस्त्र प्रहरी बल नेपाल, पर्सा र आफन्त नेपाल, वीरगञ्जको संयुक्त टोलीले उद्धार गरेको हो। प्रारम्भिक सोधपुछ तथा आवश्यक प्रक्रियापछि बालिकाको पहिचान भारतको बिहार राज्य, पश्चिमी चम्पारण जिल्लाको नरकटियागञ्ज निवासी भएको खुलेको थियो।

उद्धारपछि आवश्यक कानुनी तथा मानवीय प्रक्रिया पूरा गरी बालिकालाई सुरक्षित रूपमा उनका अभिभावकको जिम्मा लगाइएको आफन्त नेपाल, वीरगञ्जले जनाएको छ।

मानव बेचबिखन नियन्त्रणका क्षेत्रमा कार्यरत संस्थाहरूका अनुसार खुला सीमा, गरिबी, अशिक्षा, वैदेशिक रोजगारीको प्रलोभन, झुटा विवाह, राम्रो रोजगारीको आश्वासन तथा विभिन्न प्रकारका प्रलोभनका कारण महिला तथा बालबालिका बेचबिखनको उच्च जोखिममा पर्ने गरेका छन्। यस्ता घटनालाई रोक्न सीमा क्षेत्रमा निरन्तर निगरानी, जनचेतना अभिवृद्धि तथा नेपाल–भारतका सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनीहरूको भनाइ छ।

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसले मानव बेचबिखनजस्तो जघन्य अपराध अन्त्य गर्न सरकार, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारमाध्यम तथा सर्वसाधारण सबैको साझा दायित्व रहेको सन्देश दिएको छ। सीमा क्षेत्रमा खटिएका सुरक्षा निकाय र सामाजिक संस्थाहरूले पनि शंकास्पद गतिविधि देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराई मानव बेचबिखन रोक्न सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्।

वीरगञ्ज नाकामा भएको यो उद्धार घटनाले नेपाल–भारतबीचको प्रभावकारी समन्वय, सुरक्षा सतर्कता तथा सामाजिक संस्थाहरूको सक्रियताले मानव बेचबिखनका प्रयासलाई असफल बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने स्पष्ट सन्देश दिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *