सुनसरी घटनाः मृतकका परिवारसँग सरकारको ६ बुँदे सहमति, शहीद घोषणा प्रक्रिया तत्काल अघि बढाइने

समाचार

काठमाडौं, १५ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको दुःखद घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवार तथा नेपाल सरकारबीच ६ बुँदे सहमति भएको छ।


गृह मन्त्री सुधन गुरुङको नेतृत्वमा कप्तानगञ्जमै पुगेर पीडित परिवारसँग वार्ता गरी सहमति गरिएको हो। गृह मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत सहमति भएको जानकारी दिँदै सरकारले उक्त सहमतिप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

गृह मन्त्रालयका अनुसार सरकारले दिवंगत ओम प्रकाश मेहता र जय प्रकाश मेहताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

सहमतिअनुसार मृतकहरूलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने छ। साथै, प्रत्येक पीडित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ।

त्यसैगरी, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने, सम्बन्धित कानुनी तथा नीतिगत विषयमा आवश्यक अध्ययन गरिने, पीडित परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने तथा छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक निर्णय र कार्यान्वयन गरिने सहमति भएको छ।
यस्तै, मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माणका लागि आवश्यक समन्वय गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ।

गृह मन्त्रालयले नेपाल सरकार सत्य, न्याय, कानुनी शासन तथा नागरिकको विश्वासप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः विश्वास दिलाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *