वीरगञ्ज, साउन १५ । पर्साको वीरगञ्ज महानगरपालिका–१४ पिपरा चिनिमिल क्षेत्रमा कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का आरोपितको खोजी भइरहेको छ।
पर्सा प्रहरीका अनुसार असार ३१ गते बिहान करिब १०ः५० बजे सडक विस्तारका क्रममा भत्किएको घरको इँटा हटाउने विषयमा भएको विवादका क्रममा स्थानीय अन्दाजी ५० वर्षीया लिलावती देवीमाथि मनोज प्रसाद कुर्मी र लक्की प्रसाद पटेलले कुटपिट गरेका थिए।
घटनामा गम्भीर घाइते भएकी लिलावती देवीको नारायणी अस्पतालमा उपचार गरिएको थियो। प्रारम्भिक उपचारपछि साउन ३२ गते साँझ ५ः४० बजे उनलाई डिस्चार्ज गरिएको थियो। तर साउन १४ गते साँझ स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि उनलाई फेरि नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा साँझ ७ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनालगत्तै प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न लक्की प्रसाद पटेललाई पक्राउ गरेको छ। फरार रहेका अर्का आरोपित मनोज प्रसाद कुर्मीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।
