वीरगञ्ज, साउन १५। वीरगञ्ज महानगरपालिका वडा नं. २६ मा नवनिर्मित वडा कार्यालय तथा स्वास्थ्य चौकी भवनको शुक्रबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। भवनको उद्घाटन वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख आलमले वडा नं. २६ को समग्र विकास र जनसेवाका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले वडाको पूर्वाधार विकास, सेवा प्रवाह र जनहितका योजनामा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “मसँग हुने सम्पूर्ण सहयोग यस वडाका नागरिकका लागि हुनेछ। आगामी दिनमा पनि विकास निर्माणका प्रत्येक योजनामा म अग्रसर रहनेछु।”
कार्यक्रममा वडा नं. २६ का वडा अध्यक्ष शम्भु मिश्रले करिब एक करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको वडा कार्यालय र स्वास्थ्य चौकी भवन कार्यवाहक नगर प्रमुख आलमको विशेष पहल र सहयोगका कारण सम्भव भएको बताउनुभयो। उहाँले भवन निर्माणमा प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यसको श्रेय कार्यवाहक नगर प्रमुखलाई दिनुभयो।
त्यसैगरी, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले आफ्नै सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण हुनु महानगरका लागि सकारात्मक उपलब्धि भएको उल्लेख गर्नुभयो। उहाँले महानगरका सबै ३२ वटै वडामा आफ्नै कार्यालय भवन निर्माण गर्ने लक्ष्यतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
उद्घाटन कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, नागरिक समाजका अगुवा, वडा सदस्य तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीयवासीहरूले नयाँ वडा कार्यालय र स्वास्थ्य चौकी सञ्चालनमा आएपछि प्रशासनिक तथा स्वास्थ्य सेवा अझ छिटो, सहज र प्रभावकारी रूपमा प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
