बारा प्रहरीले ११ लाखभन्दा बढी नगदसहित नियन्त्रणमा लिएका ३ जनालाई अनुसन्धानपछि छोड्यो

बिदेश राजनीति समाचार

बारा, २९ माघ ।

विशेष सूचनाको आधारमा प्रहरीले बारा जिल्लाको पथलैया चौकमा गरेको चेकजाँचका क्रममा ११ लाख रुपैयाँभन्दा बढी नगदसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानपछि उनीहरूलाई रकम जिम्मा लगाई छोडिएको बारा प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।

मिति २०८१ माघ २६ गते साँझ ५ बजे, प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले नारायणघाटबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ५ ख ६५४४ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा तीनजनाको साथबाट नेपाली रुपैयाँ १०,१७,५०० (दश लाख सत्र हजार पाँच सय) र भारतीय रुपैयाँ १,४७,५०० (एक लाख सत्तचालिस हजार पाँच सय) बरामद गरेको थियो।

अनुसन्धानका क्रममा ती व्यक्तिहरू सुदूर पश्चिमका विभिन्न जिल्लाहरूमा ट्याक्टर लिएर गाउँ-गाउँ घुमी सिरक, डस्ना, गद्दा लगायतका कपडाका समानहरू बनाउने, बेच्ने तथा आर्थिक उपार्जन गरी घर पठाउने समूहसँग आबद्ध रहेको खुलेको थियो। उनीहरूको समूहले सबै सदस्यको कमाइ एकसाथ जम्मा गरी बाँडफाँड गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिई अनुसन्धान गरिएका व्यक्तिहरू निम्नानुसार छन्:

१. उजीर मिया (५० वर्ष) – पूर्वी चम्पारण, बिहार, भारत
२. समिर आलम (३५ वर्ष) – छोडादानु बुदबाहा-६, बिहार, भारत
३. गफार मिया (१७ वर्ष) – छोडादानु बुदबाहा, बिहार, भारत

बारा प्रहरीले घटनाको विस्तृत अनुसन्धानपछि प्रमाणका आधारमा आवश्यक परेमा पुनः उपस्थित हुनुपर्ने शर्तमा ती व्यक्तिहरूलाई रकम जिम्मा लगाई छोडिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार घटनाबारे विस्तृत अनुसन्धान गरि ब्यक्तिहरुलाई छोडिएको प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *