रसीद आलम
काठमाडौं, १८ जेठ ।खानेपानी मन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रालयलाई ३३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन्। उक्त बजेटले देशभरका नेपालीलाई सुरक्षित र गुणस्तरीय खानेपानी सेवा प्रदान गर्ने लक्ष्य लिएको उनले जानकारी दिए।
उनका अनुसार, काठमाडाैं उपत्यकामा खानेपानी आपूर्ति प्रणालीलाई एकीकृत र व्यवस्थित बनाइनेछ। साथै, जलाशययुक्त खानेपानी आयोजना, भूमिगत पानीको स्रोत पुनर्भरण तथा खानेपानी मुहान पुनःस्थापना गरिनेछ।
अर्कोतर्फ, कन्के देउराली जलाशययुक्त खानेपानी आयोजना स्रोत सहमति प्राप्त गरी निर्माण कार्य अघि बढाइने छ भने सातै प्रदेशका सात शहरमा नमुना खानेपानी आयोजना सञ्चालन गरिनेछ।
मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको हेडवक्सलाई विपद् जोखिमको दृष्टिले सुरक्षित स्थानमा पुनःनिर्माण गरिने बताए। सुन्दरीजलमा दैनिक २५ करोड ५० लाख लिटर क्षमता भएको पानी प्रशोधन केन्द्र निर्माण गरिने योजना समेत प्रस्तुत गरिएको छ।
त्यस्तै, तराई–मधेशका २८० अधुरा खानेपानी आयोजना निर्माण कार्य सम्पन्न गरी स्थानीय तहमा हस्तान्तरण गरिनेछ। ‘एक घर, एक धारा’ कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश र स्थानीय तहसँग सहकार्य गरिनेछ।
विपद्बाट क्षतिग्रस्त खानेपानी आयोजना मर्मत तथा पुनःस्थापना गरिनेछ भने आगामी दुई वर्षमा सुर्खेतको भेरी पम्पिङ आयोजना निर्माण कार्य सम्पन्न गरिने बताइएको छ। भेरी पम्पिङ उपआयोजना प्याकेज १ को निर्माण कार्यमा समेत तीव्रता दिइनेछ।

खानेपानी मन्त्रालयले प्रमुख शहरहरूमा ढल निकास तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्नेछ। ठूला आयोजनाहरू सम्पन्न भई आगामी वर्षमा ३७ प्रतिशत जनसंख्यालाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य रहेको मन्त्री यादवले बताए।
