पर्सा ,१८ जेठ । जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ नगवा टोलका ५९ वर्षीय अल्जाइमरका बिरामी अरुण लाल कर्ण नालामा डुबेर मृत अवस्थामा फेला परेका छन्।
मृतक कर्ण २०८२ जेठ १६ गते अपराह्न ५ बजे घरबाट दाह्री बनाउन जान्छु भनेर निस्केका थिए। राति अबेरसम्म घर नफर्किएपछि उनका आफन्तले सोही दिन साँझ ७ बजे प्रहरीलाई खबर गरेका थिए।
प्रहरीको टोलीले खोजतलास जारी राख्ने क्रममा २०८२ जेठ १८ गते बिहान ७:३० बजे वीरगञ्ज–१६ नयाँ बस्तीस्थित खेतखल्टोमा पानी जमेको नालामा उनको शव फेला परेको हो।
घटनास्थलमा बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको कमाण्डमा प्रहरी टोली खटिइ कानुनी प्रक्रिया पुरा गरेको छ। शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।
