वीरगञ्ज, २६ फागुन । पर्सा जिल्लामा सुरक्षाकर्मीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेका छन्। सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले करिब २ सय १८ किलो गाँजासहित एक ट्र्याक्टर नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका अनुसार फागुन २५ गते जिराभवानी गाउँपालिका–४ स्थित पशु बजार क्षेत्रबाट गाँजा ओसारपसारमा प्रयोग गरिएको ट्र्याक्टर नियन्त्रणमा लिइएको हो।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको संयुक्त टोलीले जिराभवानी गाउँपालिका–४ क्षेत्रमा चेकजाँच गर्ने क्रममा मे १ त ५७१४ नम्बरको सोनालिका ट्र्याक्टरबाट लुकाइछिपाइ ओसारपसार गरिँदै गरेको अवस्थामा २ सय १८ किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्र्याक्टर रोकेर जाँच गर्न खोज्दा चालकसहित संलग्न व्यक्तिहरू सुरक्षाकर्मीलाई देखेपछि फरार भएका थिए। घटनास्थलबाट बरामद गरिएको गाँजा तथा ट्र्याक्टर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।
ट्र्याक्टर कसको हो र गाँजा कसले ओसारपसार गरिरहेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
