समानुपातिक मतगणना सकियो : रास्वपाको वर्चस्व, ५७ सिट थपिने

राजनीति समाचार

काठमाडौं, २७ फागुन ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिकतर्फको सम्पूर्ण मतगणना सकिएको जानकारी दिएका छन्।

मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी मत प्राप्त गर्दै समानुपातिकतर्फ ५१ लाख ३९ हजार २३५ मत पाएको छ। प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकबाट थप ५७ सिट प्राप्त गर्ने निश्चित देखिएको छ।

त्यसैगरी नेपाली कांग्रेस ले समानुपातिकतर्फ १७ लाख ४९ हजार ५८३ मत पाएको छ। प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकबाट करिब २० सिट थप्ने सम्भावना रहेको छ।

नेकपा एमाले ले समानुपातिकतर्फ १४ लाख ५१ हजार ७५९ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ ९ सिट जितेको एमालेले समानुपातिकबाट १६ सिट थप्ने निश्चित भएको छ।

त्यस्तै प्रत्यक्षतर्फ ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टी ले समानुपातिकतर्फ ८ लाख ९ हजार ७१ मत प्राप्त गरेको छ। यस आधारमा उक्त पार्टीले थप ९ सिट पाउने देखिएको छ।

चार महिना अघि मात्रै स्थापना भएको श्रम संस्कृति पार्टी ले प्रत्यक्षतर्फ ३ सिट जितेको छ भने समानुपातिकतर्फ ३ लाख ८५ हजार ६ सय ८२ मत प्राप्त गर्दै थप ४ सिट पाउने निश्चित भएको छ।

यसैगरी प्रत्यक्षतर्फ १ सिट जितेको राप्रपा ले समानुपातिकतर्फ ३ लाख ३० हजार ८२ मत प्राप्त गरेको छ। सो आधारमा राप्रपाले करिब ४ सिट पाउने सम्भावना रहेको छ।

निर्वाचन आयोगका सूचना अधिकारी घिमिरेका अनुसार अब दलहरूले प्राप्त गरेको सदर मतको आधारमा समानुपातिक सिट बाँडफाँटको प्रक्रिया अघि बढाइनेछ। सिट निर्धारण भएपछि आयोगले सम्बन्धित दलहरूलाई तीन दिनभित्र बन्दसूचीबाट नाम सिफारिस गर्न पत्र पठाउने जनाएको छ।

दलहरूले पठाएको नामावली समावेशिता र कानुनी मापदण्डअनुसार भए–नभएको आयोगले पुनः परीक्षण गर्नेछ। त्यसपछि निर्वाचन आयोगले समानुपातिकतर्फका ११० जना सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *