बारा प्रहरीको ठुलो सफलता,तत्कालीन क्याम्पस प्रमुख कुशवाहाको हत्याको आरोपमा ७ जना पक्राउ।

समाचार

रसीद आलम ,बारा,१२ असार।

बारा प्रहरीले ठुलो सफलता हात पारेको छ।रामराजा बहुमुखि क्याम्पस कलैयाका तत्कालीन क्याम्पस प्रमुख वर्ष ५० को हरि भुषण प्रसाद कुशवाहाको हत्याको आरोपमा ७ जनालाई पक्राउ गरेको छ।

बाराको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरीया निवासी रामराजा बहुमुखि क्याम्पस कलैयाका तत्कालीन क्याम्पस प्रमुख हरि भुषण प्रसाद कुशवाहाले मोटरसाइकल चलाई खजुरियाबाट कलैयातर्फ जाने क्रममा आदर्शकोतवाल-३ बतरा टोल स्थित ग्रेवल सडक खण्डमा पुग्दा जेठ ३२ गते साझ ५:१५ बजेको समयमा अपरचित व्यक्तिहरुको समुहले कुशवाहालाई गोली हानी घाईते बनाएको थियो र उपचारको क्रममा बयोधा अस्पतालमा कुशवाहाको मृत्यू भएको थियो ।

सो घटनालाई लिएर सदरमुकाम कलैयामा व्यापक बिरोध भएको थियो र बारा प्रहरीमाथि शान्ति सुरक्षाको सन्दर्भमा प्रश्न चिन्ह नै खडा भएको थियोे । प्रभावकारी अनुसन्धान गरि अपराधीलाई पक्राउ गर्न बारा प्रहरीको लागि चुनौती नै थियोे ।

चुनौतीलाई स्वीकार गर्दै बारा प्रहरीले सुजबुझका साथ अपराध नियन्त्रण र विश्लेषण विशेषज्ञको नामले चिनिने प्रहरी उपरीक्षक महेन्द्र खड्काको कमान्डमा ७ जनालाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको छ।

पक्राउ पर्नेहरूमा बाराको आदर्शकोतवाल गाउँ पालिका वडा नम्बर २ खजुरिया टोलमा बस्ने महन्थ महतोको छोरा वर्ष ३२ को अवधलाल प्रसाद कुशवाहा, सोही बस्ने जितन महतोको छोरा वर्ष २९ को चांदसी प्रसाद कुशवाहा, बतरा टोलमा बस्ने प्रेमलाल साहको छोरा वर्ष २७ को चुल्हाई भन्ने श्रवण कुमार साह,कलैया उ.म.न.पा.वडा नम्बर १० मटिअर्वा टोलमा बस्ने मोहन रामको छोरा वर्ष ५० को आम्रपाली भन्ने ब्रहमदेव राम, करैयामाई गा.पा. वडा नम्बर ७ पिपरा टोलमा बस्ने महादेव साद थारुको छोरा वर्ष ५० को मोतिलाल चौधरी,खजुरिया टोलमा बस्ने सियाराम राउत कुर्मीको छोरा वर्ष ३४ को राधेश कुमार पटेल र रामचन्द्र राउत कुर्मीको छोरा वर्ष ५४ को विनोद राउत कुर्मी रहेको बारा प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट बा.३२ प ७०५५ ,ना.५९ प ४७८९ ,ना.३३ प ५४६२ नम्बरको ३ वटा मोटरसाइकल र गोली ६ राउण्ड बरामद भएको छ।साथै बिभिन्न मोवाईल, ल्यापटप र नेपाली तथा भारतीय सिमकार्डहरु पनि बरामद भएको प्रहरीले जानकारी गराएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न देखिएको शंकित र किटानी जाहेरी दरखास्तमा समेत उल्लेखित ७ जना प्रतिवादीहरुलाई असार ११ गते पक्राउ  गरी निजहरु उपर कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा दर्ता भई सम्मानित बारा जिल्ला अदालतबाट ६ दिनको म्याद थप भई अनुसन्धान कार्य भईरहेको छ ।

उक्त घटनामा संलग्न अन्य फरार रहेका प्रतिवादीहरुको खोज तलास तथा अनुसन्धान कार्य जारी रहेको डिएसपी न्यौपानेले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *