नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा नारायणी अस्पतालमा बिरामीलाई फलफूल वितरण

समाचार

बिरगंज ,१८ जेठ ।

नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा पर्सा जिल्लाको नारायणी अस्पताल, वीरगञ्जमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको छ। नेपाल प्रेस युनियन पर्सा शाखाले आयोजना गरेको विशेष कार्यक्रमका क्रममा दुई सयभन्दा बढी बिरामीलाई फलफूल वितरण गरिएको हो।

नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय महतोले जानकारी गराएअनुसार नारायणी अस्पतालको प्रसूति वार्ड, मेडिसिन वार्ड, आईसीयू, सिसियु, पोस्टअप वार्ड, सर्जिकल वार्ड लगायतका विभिन्न वार्डमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले फलफूल वितरणकै क्रममा बिरामीहरूको अवस्था तथा उनीहरूको गुनासोहरू समेत सुन्नुका साथै तत्काल समाधानका लागि सम्बन्धित व्यक्तिहरूलाई निर्देशनसमेत दिनुभएको थियो।

उक्त फलफूल वितरण कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमलाई अझै विशेष बनाउन नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदनारायण सिंहलगायतको उपस्थिति रहेको उप–प्रमुखका प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिनुभयो।

नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसलाई समाजसेवा र बिरामीहरूको सेवामा समर्पित गर्दै मनाउन गरिएको यो फलफूल वितरण कार्यक्रमले बिरामीहरूमा हर्ष र उत्साह थपेको छ। कार्यक्रममा सहभागी अतिथिहरूले पनि अस्पताल प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरी बिरामीहरूको सहज उपचारको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका थिए।

नेपाल प्रेस युनियनले यस किसिमका सामाजिक कार्यहरू आगामी दिनहरूमा समेत निरन्तर रूपमा गर्दै जाने प्रतिबद्धता जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *