रसीद आलम ,वीरगञ्ज, साउन २२।
“हेल्मेट तपाईंको रोजाइ होइन, जीवन सुरक्षाको कवच हो।” भन्ने सशक्त सन्देशसहित जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक सुरक्षा र दुर्घटना न्यूनीकरण अभियानलाई थप प्रभावकारी बनाएको छ। आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत नागरिकलाई हेल्मेट अनिवार्य रूपमा प्रयोग गर्न अनुरोध गर्दै कार्यालयले ट्राफिक नियमको पालना गर्न सबै चालक तथा यात्रुलाई आग्रह गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले कानुनबमोजिम आवश्यक ट्राफिक कारबाही निरन्तर भइरहेको जानकारी दिएका छन्। उनले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कारबाही गरिनुका साथै सचेतना अभिवृद्धिलाई पनि समान प्राथमिकतामा राखिएको बताएका छन्।
प्रहरी निरीक्षक श्रेष्ठले पर्साको जिम्मेवारी सम्हालेदेखि नै ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने अभियानलाई तीव्रता दिएका छन्। व्यस्त सडकहरूमा स्वयं उपस्थित भई चालकहरूसँग “सडकमै दुई मिनेट संवाद” कार्यक्रम सञ्चालन गर्दै ट्राफिक नियमको महत्व, हेल्मेट तथा सिटबेल्ट प्रयोगको आवश्यकता, तीव्र गति नियन्त्रण, लेन अनुशासन र दुर्घटना न्यूनीकरणका उपायबारे प्रत्यक्ष जानकारी दिइरहेका छन्। यस अभियानले चालक तथा सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीको भनाइ छ।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार ट्राफिक प्रहरीले कारबाही मात्र होइन, दुर्घटना हुनुअघि नै सचेत बनाउने उद्देश्यका साथ जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको छ। विद्यालय, यातायात व्यवसायी, चालक तथा विभिन्न समुदायसँग अन्तरक्रिया गरी सुरक्षित सडक संस्कृतिको विकासमा जोड दिइएको उनले बताए।
यसैबीच, ट्राफिक व्यवस्थापनसँगै भन्सार छली नियन्त्रण अभियानलाई पनि प्रभावकारी बनाइएको छ। हालै भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएका १३ थान भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। यस्ता अवैध गतिविधिविरुद्ध कडा निगरानी जारी रहने पनि प्रहरीले स्पष्ट पारेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक सुरक्षामा सबै नागरिकको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै हेल्मेट, सिटबेल्ट तथा अन्य ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ। कार्यालयले सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा भनिएको छ, “ट्राफिक नियमको पालना गरौं, जिम्मेवार नागरिकको परिचय दिऔं।”
प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले नियम पालना गर्ने बानीले मात्र सडक दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने उल्लेख गर्दै सबै चालक, यात्रु तथा पैदलयात्रीलाई ट्राफिक नियमको पूर्ण पालना गर्न अपिल गरेका छन्। उनले नागरिकको सहयोग र सचेतनाबाट मात्रै सुरक्षित, व्यवस्थित र दुर्घटनारहित सडक निर्माण सम्भव हुने विश्वास व्यक्त गरेका छन्।
