अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा पहल, सोमबार बृहत् बैठकपछि कार्यान्वयन सुरु हुने

समाचार

वीरगञ्ज, साउन २२।
वीरगञ्ज महानगरपालिकाले नगरलाई सफा, सुन्दर र सुरक्षित बनाउने अभियानलाई थप प्रभावकारी बनाउँदै अव्यवस्थित रूपमा झुण्डिएका इन्टरनेट तथा सञ्चारका तार व्यवस्थापनका लागि कडा पहल थालेको छ। लामो समयदेखि सहरको सौन्दर्य बिगार्नुका साथै आगलागी र सवारी दुर्घटनाको जोखिम बढाउँदै आएका तारहरू व्यवस्थित गर्न महानगर सक्रिय रूपमा अघि बढेको हो।

यसैक्रममा शुक्रबार वीरगञ्ज महानगरपालिका र विभिन्न इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीका प्रतिनिधिहरूबीच प्रारम्भिक छलफल सम्पन्न भएको छ। कार्यवाहक नगर प्रमुख इम्तियाज आलम तथा प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहराको विशेष उपस्थितिमा भएको बैठकमा अव्यवस्थित तार व्यवस्थापन, प्रयोगविहीन केबल हटाउने तथा दीर्घकालीन समाधानका उपायबारे विस्तृत छलफल भएको थियो।

बैठकले थप ठोस निर्णय र कार्ययोजना तयार गर्न आगामी सोमबार पुनः बृहत् छलफल आयोजना गर्ने निर्णय गरेको छ। महानगरका अनुसार उक्त बैठकपछि सेवा प्रदायकहरूसँग समन्वय गरी नगरभर रहेका अव्यवस्थित तथा प्रयोगविहीन तार हटाउने र व्यवस्थित गर्ने अभियान तीव्र रूपमा अघि बढाइनेछ।

कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले नगरको सुरक्षा र सौन्दर्यीकरण महानगरको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै भन्नुभयो, “अव्यवस्थित तारका कारण सहर कुरुप बन्नुका साथै आगलागी र सवारी दुर्घटनाको जोखिम बढेको छ। नागरिकको सुरक्षा र व्यवस्थित सहर निर्माणमा कुनै सम्झौता हुँदैन। यो अभियानलाई परिणाममुखी बनाउँदै दीर्घकालीन समाधानतर्फ अघि बढिरहेका छौँ।”

महानगरपालिकाको यो पहललाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्। सोमबारको बृहत् बैठकपछि स्पष्ट कार्ययोजना सार्वजनिक हुने र सहरभर अव्यवस्थित तार व्यवस्थापनको काम प्रभावकारी रूपमा सुरु हुने अपेक्षा गरिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *