भक्तपुर ,२३ साउन ।खाना पकाउने एलपी ग्यासको कालोबजारी गरी चर्को मूल्यमा बिक्री वितरण गरेको आरोपमा भक्तपुर प्रहरीले एक जना पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २०८३ साल साउन २३ गते चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा भाडामा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयनाले सञ्चालन गरेको त्वयना किराना पसलबाट उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको सिलिण्डर प्रति सिलिण्डर ७ हजार रुपैयाँका दरले बिक्री वितरण भइरहेको सूचना प्राप्त भएको थियो।
सूचनाका आधारमा प्रहरी टोलीले तत्काल उक्त पसलमा पुगेर चेकजाँच तथा अनुगमन गर्दा ३ थान एलपी ग्यास सिलिण्डर फेला पारेको थियो। प्रहरीले पसल सञ्चालक तुलसीराम त्वयनालाई समेत नियन्त्रणमा लिएको जनाएको छ।
ग्यासको कालोबजारी तथा चर्को मूल्यमा बिक्री वितरण सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले घटनाबारे जानकारी दिँदै नियन्त्रणमा लिइएका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको बताए।
